Nepal World Peace Movement

Elementor #1485

समर्पण

दुःखको सागररुपी संसारचक्रमा निरन्तर रुपले जन्मेर दुःख–कष्ट भोगिरहेका चेतनशील प्राणीहरुले जन्म र मृत्युलाई निरोध गर्न सक्ने(रोक्न सक्ने) सत्धर्मको सही अर्थलाई  बुझेर मार्गज्ञान बोध गरी दुःख–कष्ट भोगिरहनुपर्ने अवस्थाबाट सदाका लागि छुट्कारा मिलोस् भन्ने मैत्री करुणाभाव राखी भगवान् बुद्धद्वारा पहिलो पटक पञ्चवर्गीय भिक्षुहरुलाई आषाढ पूर्णिमाको दिन वनारसको मृगदावनमा दिनभएको चार आर्य सत्य उपदेश विश्व मानव कल्याणका लागि समर्पित गरेको छु । विश्व शान्तिका लेखक तथा नेपाल विश्व मैत्री, करुणा तथा शान्ति अभियानका संस्थापक अध्यक्षः रमेश लामा

 

लेखकको सन्देश

बुद्ध धर्मको  प्रत्यक्ष मार्गदर्शन अनुसार एक दिनको शील ग्रहण गर्नुदेखि लिएर शरणगमन शील, पञ्चशील, अष्टशील, दश शील, भिक्षु शील, बोधिस्त्यो शील, गुह्य  तथा गोप्य मन्त्रको शील ग्रहण गरेर सङ्कल्प (अठोट) गर्नुभन्दा पहिले बुद्धरत्न, धर्मरत्न र सङ्घरत्न को शरणमा जानुपर्दछ । किनकी शरणमा जानु सबै धर्म अभ्यासहरूको आधार हो । साथै सबै धर्म अभ्यासहरूको आश्रय नै बुद्धरत्न, धर्मरत्न र सङ्घरत्न नै हुन् । त्यसको सही अर्थ जन्म र मृत्युलाई निरोध गर्नका लागि (रोक्नका लागि) शरणमा जानु हो । शरणमा जाँदा मार्गलाई अभ्यास गर्नको लागि मार्ग देखाउने गुरु, मार्ग र सहयोगीको रूपमा बुद्धरत्न, धर्मरत्न र सङ्घरत्नलाई स्वीकार गर्नु हो । शरणमा जाने विधि (तरिका) अनुसार आदर भाव राखेर शरीर, वचन र मनले शरणमा जानुपर्दछ । बुद्ध धर्मको मार्गदर्शनअनुसार दुःख–कष्ट भोगीरहनुपर्ने अवस्थाबाट मुक्ति पाउनका लागि आदर भाव राखेर शरीर, वचन र मनले शरणमा जानुपर्दछ । महायान बुद्ध धर्मको मार्गदर्शनअनुसार सर्वज्ञ सम्यक् सम्बोधि ज्ञान प्राप्त गर्नका लागि आदर भाव राखेर शरीर, वचन र मनले शरणमा जानुपर्दछ । शरणमा जाँदा तीन प्रकारका विचारका साथ जानुपर्दछ । संसार र तल्लो लोकहरूको डर (नरक लोक, पशुलोक, प्रेतलोकमा जन्म नहोस् भन्ने डर), बुद्धरत्न, धर्मरत्न र सङ्घरत्नको आशीर्वादमा पूर्ण विश्वास तथा दृढ सङ्कल्प (कहिल्यै परिवर्तन नहुने अठोट) र सम्पूर्ण प्राणीहरूमा फैलिएको सर्वव्यापी करुणा (दया) भावका साथ शरणमा जानुपर्दछ । हामी कहिल्यै मृत्यु नै नहुने भए वा सदा मानवको रूपमा मात्रै पुनर्जन्म भइरहने भए बुद्धरत्न, धर्मरत्न र सङ्घरत्नको शरणमा जानुपर्ने थिएन तर मृत्युपछि तल्लो लोकहरूमा पतन हुने भएकोले, असभ्य मानिस भएको स्थानमा पुनर्जन्म लिनुपर्ने भएकोले र कर्म फलमा विश्वास नगर्ने सत्धर्म बिपरीत कर्म गर्ने अबौद्ध दर्शन मार्गतिर खस्ने भएकोले बुद्धरत्न, धर्मरत्न र सङ्घरत्नको शरणमा जानुपर्ने कारण हो र रक्षकहरू नै बुद्धरत्न, धर्मरत्न र सङ्घरत्न मात्रै भएको हुनाले हामीले त्रिरत्नको शरणमा जानु पर्दछ ।

त्रिरत्नको शरणमा जानुपर्दछ । किनकी जन्म र मृत्युलाई निरोध गर्न सक्षम सबै दोषबाट मुक्त हुनुभएका तथा सम्पूर्ण पुण्यहरूले पनि सम्पन्न हुनुभएका सर्वज्ञानी सम्यक्सम्बुद्ध मात्रै हुनुहुन्छ र बुद्धले देशना गर्नुभएका धर्म उपदेशहरू र बुद्धको शिष्यत्व ग्रहण गरी बुद्धद्वारा देशना गर्नुभएका सम्पूर्ण धर्म उपदेशहरू अलंकार गर्नुभएका शील गुणले पूर्ण रूपमा सम्पन्न हुनुभएका, समाधि गुणले पनि पूर्ण रूपमा सम्पन्न हुनुभएका तथा प्रज्ञा ज्ञान गुणले पनि पूर्ण रूपमा सम्पन्न हुनुभएका कल्याणमित्र सङ्घरत्न नै आफ्नो  र अरूको जन्म र मृत्युलाई निरोध गर्न सक्षम छन् । त्यसैले बुद्धरत्न, धर्मरत्न र सङ्घरत्नको शरणमा जानु पर्दछ । त्यसपछि आफ्नो सङ्कल्पलाई पतन हुन नदिनको लागि त्रिरत्नको शरणमा जानासाथ आठवटा उपाय कौशलका अभ्यासहरू गर्नुपर्दछ ।

Leave a Comment